
काठमाडौं ०३ गते। नेपालमा पछिल्लो समय चिनियाँ भाषा र संस्कृतिप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ । विश्व विश्वविद्यालयस्तरीय चिनियाँ भाषा प्रतियोगिताको अन्तिम चरण सम्पन्न भएको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपाल–चीनबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियाे।



‘एक संसार, एक परिवार’ भन्ने नारासहित आयोजित प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी विश्वविद्यालयका विद्यार्थी सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १० जना विद्यार्थी अन्तिम चरणका लागि छनोट भएका हुन्। प्रतियोगितामा वक्तृत्वकला, चिनियाँ संस्कृति सम्बन्धी प्रश्नोत्तर तथा सांस्कृतिक प्रतिभा प्रदर्शन समावेश गरिएको थियो । आयोजकले एक जनालाई विजेता, एक जनालाई उपविजेता, तीन जनालाई तृतीय तथा पाँच जनालाई उत्कृष्ट घोषणा गरेका थिए ।

कार्यक्रममा कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्रा. डा. ली शुआङछङ, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. हेमराज काफ्ले, चीनका लागि पूर्व नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ तथा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङलगायत नेपाली र चिनियाँ बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राजदूत चाङ माओमिङले कन्फ्युसियस इन्स्टिच्युटमार्फत १० हजारभन्दा बढी नेपाली चिनियाँ भाषा अध्ययनबाट लाभान्वित भइसकेको बताए । उनले ‘एक विश्व, एक परिवार’ को अवधारणाअनुसार आगामी दिनमा अझ धेरै प्रतिभाशाली युवाले अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्रा. डा. ली शुआङछङका अनुसार “वर्षौंदेखि कन्फ्युसियस इन्स्टिच्युटका शिक्षकहरूको समर्पण र मेहनतले हजारौँ नेपाली युवामा चिनियाँ भाषा र संस्कृतिप्रतिको प्रेम जगाएको छ, जसले चीन र नेपालबीचको मित्रता, आपसी समझदारी र सांस्कृतिक सम्बन्धलाई अझ गहिरो र बलियो बनाएको छ।”

काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. हेमराज काफ्लेका अनुसार “भाषा सिकाइले विश्व संस्कृति बुझ्न मद्दत गर्छ, र चिनियाँ विद्यार्थीहरू नेपाली र अंग्रेजी सिक्न निकै मेहनती, धैर्यवान् र प्रेरणादायी भएकाले उनीहरूलाई नेपाली कार्यक्रममा स्वागत गर्न चाहन्छौं।”

“प्राचीन चिनियाँ चिन्तकहरूले सदियौँदेखि मेलमिलाप, शान्ति, शिक्षा प्रतिको सम्मान र सामाजिक जिम्मेवारीलाई जीवनको महत्वपूर्ण दर्शनका रूपमा अघि बढाएका छन्।” चीनका लागि पूर्व नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले भन्नुभयाे।

चिनियाँ दूतावासको सहयोगमा सम्पन्न प्रतियोगितालाई नेपालमा चिनियाँ भाषा र संस्कृतिप्रतिको बढ्दो आकर्षणको संकेतका रूपमा हेरिएको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले चिनियाँ भाषामा विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमलाई थप आकर्षक बनाउन सहभागीहरूका लागि काठमाडौं देखि चीनसम्मको हवाई टिकट ‘लक्की ड्र’ कार्यक्रम पनि आयोजना गरिएको थियो ।


















